लोकतन्त्र सुदृढीकरणका लागि निष्पक्ष निर्वाच

आवधिक निर्वाचनको माध्यमबाट मात्रै सार्वभौमसत्ता सम्पन्न जनताले आफ्ना प्रतिनिधिमा जनादेश हस्तान्तरण गर्दछन् र शासन अधिकारको जन्म हुन पुग्दछ । निर्वाचनको निरन्तरता, आवधिकता, स्वच्छता, पारदर्शिता, विश्वसनीयता र निष्पक्षताले लोकतन्त्रलाई सबल र सक्षम बनाउँछ । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र धाँधलीरहित हुन नसके लोकतन्त्रले अपेक्षित विकास गर्न सक्दैन । त्यसकारण अहिले सञ्चालन गरिने स्थानीय तहको चुनाव यस्ता सबै प्रकारको आशंका, दुराग्रह र धाँधलीबाट मुक्त हुनुपर्दछ ।
विभिन्न समयमा नेपालमा सम्पन्न निर्वाचनहरू चाहे ती संसदीय हुन्, चाहे संघीय, स्थानीय र संविधानसभाकै निर्वाचन किन नहोस्, सबै निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र धाँधलीरहित हुन नसकेको गुनासो सुनिन्छ । सरकारमा रहेको पार्टीले नै बढी धाँधली गर्ने आरोप लाग्ने गरेको छ । वि.सं. २०४८, २०५१, २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेस माथि धाँधली गरेको आरोप थियो । २०५४ को स्थानीय निकायको निर्वाचनमा नेकपा (एमाले) ले सो आरोप खेपेको थियो । २०६४ को संविधानसभा निर्वाचनमा धाँधली गरेको आरोप तत्कालीन नेकपा (माओवादी) माथि लागेको थियो ।