कास्की क्षेत्र नं १ मा गठबन्धनको तर्फबाट दिलु पन्त
सरकारले मङ्सिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन देशैभर एकै चरणमा गर्ने घोषणा गरिसकेको छ । यस क्रममा बिभिन्न राजनितिक दलहरु उम्मेदवार छनोट तथा अन्य राजनितिक क्रियाकलापमा ब्यस्त छन् । खासगरि यसपालिको निर्वाचन विगतका निर्वाचन भन्दा भिन्न एवं रोमाञ्चक देखिने आंकलन छ । यसपालि दलहरु एक्ला एक्लै लड्न भन्दा पनि गठबन्धन गरेर चुनावमा भाग लिने तयारीमा देखिन्छन् ।
देशैभर चुनावको माहोल तातिरहेको सन्दर्भमा कास्कीमा पनि राजनितिक दलका भेला,प्रशिक्षण,सभा समारोह ब्यापक रुपमा आयोजना भईरहेका छन् । दलहरु उम्मेदवार छनोटमा पनि केन्द्रित देखिन्छन् । कास्कीमा प्रतिनिधि सभाका तीन क्षेत्र छन् भने प्रदेश सभाका ६ क्षेत्र रहेका छन् ।
कास्कीमा सत्ता गठबन्धन र नेकपा एमालेका बिचमा कडा प्रतिष्पर्धा हुने अनुमान छ । कास्की क्षेत्र नं. १ गठबन्धनको पकड एरिया मानिन्छ । यस क्षेत्रमा एमालेको पनि संगठन मजबुद छ । २०७४ सालको चुनावमा यस क्षेत्रबाट नेकपा एमालेका स्थायी कमिटी सदस्य,पुर्व गृह मन्त्री खगराज अधिकारी निर्वाचित भएका हुन् । यस पालि पनि एमाले बाट अधिकारी नै दोहोरिने सम्भावना छ । त्यसो भयो भने गठबन्धनलाई जित हासिल गर्न केहि मिहेनत गर्नुपर्ने जानकारहरु बताउंछन् । यसका लागि उम्मेदवार छनोट देखिनै दलहरु चनाखो हुनुपर्ने बुझाई छ । कास्की प्रतिनिधि सभा क्षेत्र नं. १ मा नेकपा (एकीकृत समाजवादी) की पोलिट्ब्युरो सदस्य एवं युवा संघ नेपालकी केन्द्रिय ईन्चार्ज दिलु पन्तले गठबन्धनको साझा उम्मेदवारको रुपमा मनोनयन दर्ता गराउने चर्चा चल्न थालेको छ । पन्त लामो समय देखि राजनितिमा होमिएकी जुझारु एवं सक्रिय महिला नेतृ हुन् ।
वि.सं. २०३० साल बैशाख १ गते मादी गाउंपालिका वडा नं. ४ याङ्जा कोटमा जन्मिएर सानै उमेर देखि वामपन्थी राजनितिमा सक्रिय नेतृ पन्त पार्टीले अगाडी सारे आफुं सधैं तयार रहेको बताउंछिन् । पन्तले गठबन्धनको तर्फबाट टिकट पाउंदा एमालेलाई सजिलै पराजित गर्न सकिने कुरामा गठबन्धनकै सारथी अन्य दलहरु पनि विश्वास गर्छन् । जनता परिवर्तन चाहन्छन् र युवा पुस्तालाई जिताउन आतुर छन् । पार्टीले आफुलाई विश्वास गरेर टिकट दिएमा जनताको मतद्घारा पश्चगमनको मतियार नेकपा एमालेलाई हराएरै छाड्ने नेतृ पन्त बताउंछिन् ।




